आयोगले थाल्यो मतदाता नामावली अद्यावधिक
१२ भदौमा सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुने
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधिक गर्दै छ ।आयोगका अनुसार १२ भदौमा सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् ।
नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भए एक स्थानमा कायम राख्न १३–१५ भदौसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले बताएको छ ।
आयोगले सूचना जारी गरी मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको नाम सूचीबाट हटाउन १३–१६ भदौसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।
यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो ।
सरकारले गत १९ साउनमा निर्वाचन मिति घोषणा गरेसँगै आयोगले २९ साउनदेखि मतदाता नामावली संकलन स्थगित गरेको थियो । मतदाता नामावली अद्यावधिक भएपपछि आगामी ३१ भदौमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
आयोगका अनुसार आगामी ३ मंसिरमा १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था हुने आयोगले बताएको छ । त्यसका लागि मतदाता सूचीमा अनिवार्य नाम दर्ता भएको हुनुपर्नेछ ।
आगामी ४ मंसिरमा देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने कार्यतालिका छ ।







