निर्वाचन एजेन्डामा छलफल गर्न एमाले बैठक बस्दै
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने भएको छ । स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेन्डामा छलफल गर्न एमालेको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणापत्रको तयारी, उम्मेदवार छनोटको मापदण्डका विषयमा छलफल हुनेछ ।
स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा समेत बैठकमा छलफल हुने एमालेले बताएको छ । प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठक दुई दिनसम्म चल्ने जानकारी दिए ।
एमाले पोलिटब्युरो बैठकबाट पाँचबुँदे मापदण्ड बनेको स्थायी समिति सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
४ मंसिरको चुनावका लागि एक्लै तयारी गर्नुपर्ने निष्कर्षमा पुगेको एमालेले निर्वाचन केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ ।
निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मापदण्ड बनाइएको तामाङले बताए ।
एमाले पाँच एजेन्डामा पहिलो, पार्टी नीतिप्रति प्रतिबद्ध, दोस्रो, लोकप्रिय, जनतामा प्रभाव पार्न सक्ने, तेस्रो, आन्दोलनमा योगदान गरेको, निष्ठावान, पार्टीलाई सहयोग गरेको, चौथो, सन्तुलित, समानुपातिक र सबै क्षेत्र, वर्गबाट सहभागी र पाँचौं, निर्वाचन कानुनअनुसार योग्य व्यक्तिलाई प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अध्यक्ष केपी ओली आफैंले उम्मेदवार छनोट गर्नेछन् । एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दै छ ।







