राजनीति / देश
Wednesday, 24 Aug, 2022
निर्वाचन केन्द्रित बैठकमा जुट्यो एमाले
काठमाडौं– नेकपा एमालेले निर्वाचन केन्द्रित योजना बनाउन मंगलबारदेखि पार्टीका विभिन्न कमिटीका बैठक सुरु गर्ने भएको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक चलाउन थालेको हो ।
१२ भदौसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भइसक्ने एमालेले बताएको छ ।
स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दै छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ७ भदौमा स्थायी कमिटी बैठक, ९ भदौमा पोलिटब्युरो बैठक, १०–११ भदौमा केन्द्रीय कमिटी बैठक बस्नेछ ।
१२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।
एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।







