उपेन्द्रवले मागे मुख्यमन्त्री राउतको राजीनामा
काठमाडौं– जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देश गरेका छन् ।
मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेका हुन्। राउत यादवकै दल जसपाका नेता हुन् ।
मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राउतको राजीनामा मागिएको हो ।
जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा मागिएको हो । मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन् ।
साइकल खरिदमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्यमा निर्वाचित राउत साढे चार वर्षअघि तत्कालीन राष्ट्रिय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।







