कार्यदलले पायो निर्वाचनका लागि साझा धारणा बनाउने जिम्मा
काठमाडौं– सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी ४ मंसिरमा हुने आमचुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउन शीर्ष नेतृत्वले जिम्मेवारी दिएको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए ।
गठबन्धन दलले आगामी निर्वाचनका सन्दर्भमा सिट बाँडफाँटका लागि कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही क्रममा कार्यदलले अहिलेसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएको थियो ।
छलफलमा शीर्ष नेताहरुले अहिलेसम्मको प्रगति तथा सिट बाँडफाँटका विषयलाई अन्तिम रूप दिनसमेत निर्देशन दिएको बताइएको छ ।
कार्यदलमा कांग्रेसबाट नेता सिटौला, सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।







