त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा फेरि लगायो नेविसंघले ताला
त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले फेरि तालाबन्दी गरेको छ।कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले ताला लगाएको हो।ताला लगाउँदै त्रिवि पदाधिकारीले यसअघि लगाइएको ताला तोड्न लगाएको आरोप लगाएका छन् ।

नेकपा (क्रान्तिकारी) का नाममा नक्कली विज्ञप्ति टाँसेर ताला फुटाइएको भन्दै नेविसंघले विरोधसमेत गरेको छ।नेकपा (क्रान्तिकारी)ले ताला फुटाएको विरोध गर्दै नेविसंघले आज फेरि तालाबन्दी गरेको छ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौं रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएका ताला फुटाउने कु-चेष्टा गर्नु आफैमा खेदजनक छ ।’
नेविसंघले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो। माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका थिए ।








