उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु
सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २: ३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने अनुमान गरिएकोछ । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली पुगेर शवहरू निकालेको छ। पोष्टमार्टमको लागि शव कटारी नगर अस्पताल लग्ने तयारी भइरहेको छ।







