नागढुङगा-नौबिसे सुरुङमार्ग निर्माणको लागि ठेक्का सम्झौता आज
काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग बनाउन आज(सोमबार) सम्झौता हुने भएको छ।२.६ किलोमिटर लामो यो सुरुङ जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण गर्न लागेको हो। निर्माण सुरू भएको ४२ महिनामा सक्ने भनिएको सुरुङमार्ग समयमै सकिए नेपालको पहिलो सडक सुरुङ मार्ग हुने छ।
आज हुने सम्झौतामा हाज्मा–आन्द्रो जेभीका प्रतिनिधि र नेपालका तर्फबाट सडक विभागको नेपाल विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले हस्ताक्षर गर्नेछन्।आयोजना १३ अर्बको लागतमा बन्न लागेको हो।
आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक सहयोग हुनेछ। यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ। सोमबार सम्झौता भए पनि निर्माण सुरू गर्न केही समय लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए। धादिङतर्फको जग्गा विवादका कारण निर्माण प्रकृया पछि धकेलिँदै आएको थियो। त्यहाँका स्थानीयले काठमाडौंतर्फकै मूल्यमा जग्गाको मुआब्जा माग गरेपछि जग्गा सम्झौता हुन सकेको थिएन। गत साउन २१ मा सरकारले प्रस्ताव गरेको दरमा नै स्थानीयले मुआब्जा लिन मानेपछि प्रकृया अघि बढेको थियो।।







