मनोज पुनका सुराकी माओवादी र युथफोर्सका कार्यकर्ता पक्राउ
५ बैशाख, रुपन्देही । दुई महिनाअघि प्रहरी कारवाहीमा मारिएका गुन्डा नाइके मनोज पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सत्तारुढ एमाले र माओवादीका कार्यकर्ता समेत रहेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका ५ का तुल्सी न्यौपाने, देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका ६ का रोशन खड्कालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका लेखनाथ माअोवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । श्रेष्ठ मदिरा उद्योगी हुन् ।युवा संघ रुपन्देहीका नेताहरु दुर्गा तिवारी र बसन्त पौडेलको हत्याको जिम्मा लिएका गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले फागुन ९ गते रुपन्देही देवदहमा भएको प्रहरी कारवाहीमा मारिएका थिए ।







