अधिनायकवाद शुरु भइसक्यो- सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन नेतृत्वको सरकारले देशमा अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन् ।भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउँदै यसलाई ‘अधिनायकवाद’ को संज्ञा दिए ।
उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने,’अब विकास गर्छन्, अधिनायकवादको ।’एक सय दिन सरकारको हनिमुन समय भएको भन्दै उनले आफूहरुले काम हेरिरहेको जिकिर गरे। ‘सुरुकै कामबाट धड्काधड्की विकास भएको छ’, देउवाले व्यङ्ग्य गर्दै भने, ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’
पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताए ।







