दुई शताब्दीपूर्वका मूर्ति भेटिएको दाबी
जनकपुर — समुद्री सतहभन्दा ६७ मिटर उचाइामा रहेको धनुषाको मुखियापटी मुसरनिया गाउँपालिका–२ को मुखियापटी गाउँमा २ हजार १ सय वर्ष पुरानो कुषाणकालीन मूर्ति फेला परेको दाबी गरिएको छ ।
जमुनी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने क्रममा माटोमुनिबाट कुषाणकालीन इँटा, मूर्ति, भाँडावर्तनलगायतका बस्तु फेला परेको हो । स्थानीय प्रगास ठाकुरको खेतको माटो खन्दा मूर्तिहरू फेला परेको वडाध्यक्ष नरेशकुमार यादवले बताए ।
मूर्ति फेला परेपछि खेतमा स्थानीयको भीड बढेको छ । माटोमुनि भेटिएका मूर्तिहरूमध्ये अधिकांशको टाउको, हात, शरीर भाँचिएको छ । भाँडाकुाडा तथा इँटाहरू पनि टुक्राटुक्रा छन् । भेटिएका मूर्तिहरूमध्ये तीनवटा वैज्ञानिक परीक्षणका लागि पुरातत्त्व विभागमा पठाइएको वडाध्यक्ष यादवले जानकारी दिए ।
गाउँभन्दा १ किमि पूर्व मूर्ति भेटिएको खेतमा सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ । मूर्ति भेटिएको ठाउँको पूर्व, दक्षिण र पश्चिममा भारतको क्रमश: गिरिजास्थान, गंगौर र मधवापुर गाउँ पर्छ । गाउँको पूर्वमा जमुनी, पश्चिममा बिगही र मध्यमा कुकुरधरि सिमरा नदी बग्छ । वर्षको चार महिना जलमग्न रहने गाउँमा कुषाणकालीन मूर्ति फेला परेपछि स्थानीय उत्साहित छन् ।
७० वर्षीय बिन्देश्वर यादवले मूर्ति फेला परेको क्षेत्रमा यसअघि पक्की इनार पनि फेला परेको बताउँछन् । यादवका अनुसार यस क्षेत्रमा बेलाबेला माटोका भाँडाकुँडा तथा इँटा पनि फेला परेको छ । ‘हामी बालक हुँदा भेरियाबथान डिहतर्फ जान रोक्थे । त्यहाँ देउताको बास छ भन्थे,’ स्थानीय ७५ वर्षीय राजेन्द्रप्रसाद यादवले कान्तिपुरसँग भने, ‘त्यही ठाउँमा मूर्ति भेटिएको हो ।’
पुरानो मूर्ति फेला परेपछि आइतबार मुखियापटी पुगेका पुरातत्त्व विभागका अधिकृत सुशीलकुमार गौतमले फेला परेका मूर्तिहरू कुषाणकालीन भएको दाबी गरे । ‘चिम्सो आँखा, लाम्चो नाक तथा चुच्चो परेको दाह्री कुषाणकालीन मूर्तिको विशेषता हो,’ उनले भने,‘यहाँ भेटिएको मूर्ति पनि त्यही प्रकारको छ ।’ माटोका मूर्तिहरू सामान्यता खोक्रो हुन्छ । तर त्यहाँ भेटिएका मूर्तिहरू खाँदिएका (ठोस) छन् ।
साको पहिलो शताब्दीदेखि तेस्रो शताब्दीको बीचमा कुषाण शासकहरूले नेपालको पश्चिमी तराईमा शासन गरेको इतिहासविज्ञ बताउँछन् । कुषाणहरू बौद्ध धर्मावलम्बी थिए । मिथिलाको राजनीतिक इतिहासका लेखक सह–प्राध्यापक वासुदेव लाल दास कुषाणहरूको प्रभाव तत्कालीन मिथिला राज्यसम्म रहेको बताए । ‘महोत्तरी, रौतहट, विराटनगर र काठमाडांै समेतबाट कुषाणकालीन सिक्का तथा मूर्तिहरू फेला परेको छ,’ उनले भने ।
इतिहास तथा मिथिला संस्कृतिका जानकार रामचन्द्र झा इसाको पहिलो शताब्दीदेखि पाँचौं शताब्दीसम्म मिथिला राज्य अस्तव्यस्त अवस्थामा रहेकाले यस कालखण्डमा बुद्ध धर्मको प्रचारप्रसार हुनुका साथै छोटो समयका लागि कुषाणहरूको शासन हुन सक्ने बताए । उनले भने, ‘शंकराचार्य (छैठो शताब्दी) को उदयपछि पुन: सनातन धर्म पुन:स्थापना भयो । यसअघि बौद्ध धर्मको प्रभावलाई नकार्न सकिँदैन ।’
पुरातत्त्व विभागका अधिकृत गौतमले वैशाखमा मूर्ति फेला परेको स्थानको उत्खनन गरिने बताए । कुषाणकालीन अवशेषहरू पश्चिमी नेपालमा मात्र फेला परेको थियो ।साभार ;कान्तिपुर







