राजनीति / देश
Wednesday, 7 Mar, 2018
कांग्रेसकाे राष्ट्रपति उम्मेदवार राईले गरिन् उम्मेदवारी दर्ता
काठमाडौँ — नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपति उम्मेदवार कुमारी लक्ष्मी राईले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । राईलाई बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उम्मेदवारी दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै राईले पार्टीले उम्मेदवार बनाएकोले मैदानमा उत्रिएको बताइन्। पत्रकारहरुले मतदाताको अंकगणितका बारे गरेका प्रश्नको उत्तर दिँदै उनले भनिन्,‘अंकगणित भन्ने कुरा एक मिनेटमै पनि बद्लिन सक्छ। मैले एसएलसी दिँदा राष्ट्रपति विद्या भण्डारी भर्खरै जन्मिनुभएको थियो। त्यसैले म उहाँको राजनीतिक उपलब्धीको सम्मान गर्छु।’
कांग्रेसबाट उम्मेदवारी दर्ता गर्न नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका कांग्रेस महामन्त्री शशांक कोइरालाले वर्तमान राष्ट्रिपति विद्यादेवी भण्डारीलाई नै एमालेले पुन: उम्मेदवार बनाउने भएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवारी दिन निर्णय गरेका बताए।
‘कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभामा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । तर, राष्ट्रपति भण्डारीले त्यसलाई रोकी दिनुभयो। यसले उहाँ निष्पक्ष हुनुहुन्न भन्ने देखिन्छ। त्यसैको विरोध स्वरुप हामीले उम्मेदवारी दिएका हौं,’ उनले भने, ‘एमालले अरुलाई उम्मेदवार बनाएको भए हामी उम्मेदवारी दिँदैन थियौं।’
राईको उम्मेदवारीको प्रस्तावकको रुपमा मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डे रहेका छन् भने समर्थकका रुपमा सरिता प्रसाईं, सुजाता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, राधा घले रहेका छन्।साभार; कान्तिपुर







