राजनीति / देश Thursday, 1 Feb, 2018
Prestige Media

प्रदेश ३- पहिलो बैठक आज, प्रदेशसभाका सांसद उत्साही

हेटौंडा — प्रदेशसभाको बैठकमा भाग लिन ३ नम्बर प्रदेशका धेरैजसो सांसदहरू बुधबार रातिसम्म हेटौंडा आइपुगेका छन् । कुलेखानीको साँघुरो र धुले बाटो पार गर्दै विभिन्न जिल्लाका सांसदहरू बैठकमा भाग यहाँ आइपुगेका हुन् ।

हेटौंडा उप–महानगरपालिका–१० स्थित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा रहेको प्रदेशसभा सचिवालय भवन । यही भवनभित्र बिहीबार प्रदेश अधिवेशन सुरु हुनेछ । सभास्थलमा सांसदको स्वागतार्थ तयार गरिएको गेट (बायाँ) । कुर्सी मिलाइँदै (दायाँ) । तस्बिर : हेमन्त श्रेष्ठ /कान्तिपुर

कांग्रेस र एमालेका सबैजसो सांसद राति नै आइसकेका छन् भने माओवादी केन्द्रका आधाजसो सांसद बिहीबार बिहान मात्रै हिँड्ने भएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा कसरी मत हाल्ने भन्नेबारे पार्टी केन्द्रीय कार्यालयले काठमाडौंमा प्रशिक्षण राखेकाले उनीहरू बिहीबार बिहान मात्रै बैठकका लागि हिँड्न लागेका हुन् ।
यस प्रदेशमा रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, चितवन, ललितपुर, सिन्धुली र मकवानपुरपर्छन् । अस्थायी राजधानी हेटौंडा आउनका लागि रसुवा सबैभन्दा टाढा पर्छ । त्यसपछि रामेछाप, दोलखा र सिन्धुपाल्चोक पर्छन् । यी जिल्लाका सांसदहरूमध्ये अधिकांश राजधानीमा एक दिन बसेर यहाँ आइपुगेका हुन् ।
बैठकमा भाग लिन आउने सांसदहरू अधिकांशलाई आवासको व्यवस्था होटलमै गरिएको छ । स्थानीय व्यवसायीहरूले सांसदहरूका लागि आवासमा चालीस प्रतिशतसम्म छुट दिएका छन् ।
काठमाडौंबाट हेटौंडा आउने सांसदका लागि सवारी समस्या परेमा त्यसको व्यवस्था पनि स्थानीय यातयात व्यवसायीले गरेका छन् । सरकारले अस्थायी राजधानीको घोषणा गरेलगतै दीपावली गरेका यस क्षेत्रका स्थानीय व्यवसायीहरू स्थायी रूपमै राजधानी हेटौंडामा होस् भन्ने चाहन्छन् ।
बुधबार आयोजित सर्वदलीय बैठकमा पार्टी प्रतिनिधि र कर्मचारी।
७ प्रदेशमध्ये ३ नम्बर प्रदेशको बैठक पहिलोपटक हुन लाागेको हो । पहिलो पटक प्रदेशसभाको बैठकमा भाग लिन लागेका सांसदहरूले प्रदेश संसद्को बैठकलाई उत्सुकतापूर्वक हेरेका छन् । नेपालले पहिलोपटक संघीयताको अभ्यास गरेकाले पनि धेरै सांसदले यो पहिलो बैठकलाई उत्सुकता र नयाँ अनुभवको रूपमा लिएका छन् । प्रदेश संसद्मा यसअघि प्रतिनिधिसभामा रहेकादेखि नयाँ अनुहार सम्मका छन् । सबैभन्दा बढी नयाँ अनुहारकासांसद छन् ।
‘प्रदेशसभाको बैठकमा पहिलो पटक भाग लिँदै छु, बिहीबारको बैठकमा सभामुख रहने ज्येष्ठ सांसद ७२ वर्षीय डोरमणि पौडेलले भने, ‘नयांँ अनुभव सँगालिँदै छ । रसुवा, रामेछापदेखि २ दिन लगाएर आइपुगेका केही सांसदहरूले भने प्रदेश राजधानी हेटौंडा पायक नपरेको भन्दै आफ्नो दुखेसो पोखेका थिए ।
उनीहरूको सबैलाई पायक पर्ने ठाउँमा प्रदेश राजधानी बनाउनुपर्ने सुझाव छ । बैठकमा भाग लिन आउने अधिकांश नयाँ अनुहारका छन् । त्यसमा पनि युवादेखि पाको उमेरसम्मका छन् । सबैभन्दा कान्छो उमेरकी सांसद भक्तपुरबाट नेपाल मजदुर किसान पार्टीको प्रदेश सांसद बनेकी सिर्जना सैंजू छिन् । २७ वर्षीया कान्छी सांसद सैंजू अहिले यहाँ चर्चाकी पात्र बनेकी छन् । उनले पहिलो पटक संसद् बनेर बैठकमा सहभागिता जनाउन लागिपरे पनि अचम्मको अनुभूति भने नभएको बताइन् ।
स्वाभाविक लागेको बताउने उनले देशको सन्तुलित विकासका लागि एकै ठाउँमा राजधानी बनाइन नहुने तर्क राखिन् ।
उनी आबद्ध मजदुर किसान पार्टीले भक्तपुरमा राजधानी बनाउन नहुने धारणा राख्दै आएको थियो । उनले पनि पार्टीको उक्त धारणालाई समर्थनजनाउँदै हेटौंडामा स्थायी राजधानी बने यतै डेरा लिएर बस्ने बताइन् ।
‘भक्तपुर वा काठमाडौंमै राख्यौं भने देशको सन्तुलित विकास नहोला कि भन्ने हो, काठमाडौं आफैं पनि विकास भइसकेको छ,’ उनले भनिन्, विकेन्द्रित गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ छ, सन्तुलित विकास हुनुपर्छ, काठमाडौं उपत्यकाले चाहिँ राजधानी धान्न सक्दैन ।’
सभामा भाग लिन आउने सांसदहरूले प्रदेश राजधानीका बारेमा मिश्रित प्रतिक्रिया दिँदै आएका छन् । अहिलेसम्म अस्थायी नै छ, गाह्रोसाह्रो हामीले व्यवस्थापन गर्नुपर्छ, रामेछापबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेकी रीता माझीले भनिन्, सिन्धुलीको बाटोले गर्दा ठीकै छ, काठमाडौंबाट आउनुपर्दा टाढा पर्छ । उनी राप्रपाबाट सांसद बनेकी हुन् ।
०७० सालमा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष र ०७४ सालमा उपमेयरमा मन्थली नगरपालिकाबाट पराजय भोगेकी माझी अहिले सांसद बन्न पाउँदा दंग छिन् । ‘पहिलोचोटि चुनाव लडेकाले राजनीति के हो भनेर सिकायो । नीति–नियम बनाउने ठाउँमा पुग्न राजनीति गर्नुपर्ने रैछ,’ उनले भनिन्, प्रदेश सांसद भए पनि अब वास्तविक अनुभव संगाल्न बाँकी नै छ । केही सांसद यसअघि प्रतिनिधिसभा सदस्य भएर अहिले प्रदेश सांसद बनेर बैठकमा भाग लिन आएका छन् ।
सुरक्षा व्यवस्था कडा
पहिलो पटक सुरु हुन लागेको प्रदेशसभा बैठकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक हलमा ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ । बाहिरी घेरामा सशस्त्र प्रहरी रहनेछ । भित्री घेरामा प्रहरी निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा ३० जनाको मर्यादापालक टोली रहनेछ । जहाँ १२ जना महिला रहनेछन् । त्यस्तै भित्री घेरामै राष्ट्रिय अनुसन्धानको टोली समेत खटिनेछ ।
अन्तिम घेराको रूपमा नेपाल प्रहरीको कुकुर सहितको बम डिस्पोजल टोली रहनेछ । मर्यादापालक हतियारविहीन हुनेछन् । ‘उनीहरूलाई सभाहलको सुरक्षा दिने सभामुखलाई फयासिलेट गर्ने गरी तालिम दिइएको छ,’ प्रमुख पाण्डेले भने, कसरी सभामुखलाई भित्र लग्ने, र हलमा ल्याउने भन्नेबारे सिकाएका छौं, घण्टी बजाउँदा र राष्टिय धुनपछि के गर्ने भन्नेबारे समेत अवगत गराएका छौं ।’
प्रदेशसभा सचिवालयले मात्र होइन । मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रले समेत ४ दिन लगाएर मर्यादा पालकको तालिम दिएको हो । कार्यालयमा राखेर हामीले मर्यादापालनबारे पहिला तालिम दियौं, जिल्ला प्रहरी प्रमुख एसपी विकासराज खनालले भने, ‘त्यसपछि प्रदेशसभा सचिवालयमा पठाएका हौं ।’
उनका अनुसार सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजमार्गका विभिन्न नाकामा पनि प्रहरीले कुकुरसहित सुरक्षा व्यवस्था कडा पारेको छ । ‘संघीय संरचनाको फम्र्याटअनुसार नै सुरक्षा व्यवस्था मिलाएका छौं,’ प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने, ‘बैठकमा तीन घेरा गरेर ७० जना भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् ।’
होटलमा छुट
यहाँ करिब १ हजार क्षमताका होटलहरू छन् । होटलमा सांसदलाई बस्ने व्यवस्था मिलाइएको छ । १५ प्रतिशत खाना र ४० प्रतिशत रुममा छुटको व्यवस्था गरिएको छ । होटल व्यवसायी अस्थायी प्रदेशको राजधानी हेटौंडालाई तोकिएसँगै दंग छन् । होटलमा आएर खानपिन गर्ने र बस्नेको संख्या वृद्धि भएको होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले बताए ।
प्रदेशसभाका सदस्यलाई स्वागतसँगै थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले छुट दिने निर्णय गरेको होटल एसोसिएसनका अध्यक्ष शर्माले बताए । शपथग्रहणको क्रममा आउँदा प्रदेशसभा सदस्यहरूलाई होटलहरूले नि:शुल्क खाना र बस्नको व्यवस्था गरेका थिए । हेटांैडालाई प्रदेशको राजधानी तोकिएकाले यहाँको उद्योग व्यवसायमा सकारात्मक प्रभाव पार्ने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष किरण कटुवालले बताए ।
प्रदेशमा विविधता
जनसंख्या र साधन स्रोतको हिसाबलेदेशकै सबैभन्दा ठूलो एवं धनी ३ नम्बरप्रदेशमा ८ वटा पार्टीका प्रतिनिधिहरूले प्रदेशसभामा प्रतिनिधित्व गरेका छन् । सम्भवत: धेरै दलहरूको प्रतिनिधित्व भएको प्रदेशसभा यो नै हो ।
प्रदेशसभामा एमाले ५८, माओवादी २३, कांग्रेस २१, विवेकशील साझा पार्टी ३, मजदुर किसान पार्टी २, राप्रपा, राप्रपा प्रजान्त्रिक र नयाँ शक्तिबाट १/१जना छन् ।
आदिवासी–जनजातिहरूको बाहुल्य रहेको यस प्रदेशमा १ सय १० प्रदेशसभा सदस्यमध्ये ५३ जना जनजाति छन् । प्रदेशसभाका सदस्यमा ब्राह्मण ३३, क्षत्री २०, दलित २, चौधरी १, र अल्पसंख्यक १ रहेका छन् । प्रदेशसभा सदस्यहरूमा ३७ महिला छन् भने ७३ जना पुरुष छन् ।
‘आजै संसद्को कार्यविधि पास हुन्छ’
डोरमणि पौडेल
ज्येष्ठ प्रदेश सांसद, एमाले
पहिलो बैठकको सभामुख बन्दै हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ?
सभामुखको भूमिका देख्या मात्र हो । व्यवहारमा लागू गर्न पाइएको थिइनँ । त्यसले गर्दा भूमिका क्रिटिकल नै छ । त्यति सजिलो छैन । मेरो नेचर त्योभन्दा अलि फरक छ । बोल्न नपाउने, एउटा लिमिटेसनभित्र बसेर बोल्नुपर्ने । यी सबै कुराले मलाई अलिअलि डाइजेसन भइरहेको छैन । तर जे भए पनि गतिलोसँग पाएको जिम्मेवारी पूरा गर्नेछु । नयाँ काम गर्न लागेकाले फरक खालको अनुभूतिचाहिँभइरहेको छ ।
सभामुखका लागि तपार्इंको नाम पनि चर्चामा छ, सभामुख बनेर चर्चामा आउन खोज्नुभएको हो ?
त्यस्तो त नभनौं । योभन्दा माथिको ठाउँमा अवसर पाइयो भने त्यो प्राथमिकतामा पर्छ । यसलाई दोस्रो प्राथमिकतामा राखेको छु ।
पहिलो बैठकमा के–के एजेन्डा छन् ?
यो हाम्रो पहिलो बैठक हो । यसमा प्रक्रियागत हिसाबले एउटा कार्यविधि पास गर्नुपर्ने हुन्छ । त्यो कार्यविधि सर्वदलीय बैठकमा राखेर त्यसलाई छलफल गरेर निष्कर्षमा पुगेका हौं । प्रमुख एजेन्डा नै कार्यविधि पास गराउने हो । दोस्रो एजेन्डा भनेको सभामुखको निर्वाचनको मिति तयार गर्ने हो । २९ गते हुन्छ । सभामुख र उप–सभामुखको निर्वाचन एकैचोटि नहुने रैछ । सभामुखको निर्वाचन भएपछि २/३ दिनको ग्यापमा उप–सभामुखको निर्वाचन गर्नेछौं ।
भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनकस्तो छ ?
हामीले द्रूतगतिमा संरचना निर्माण गरेका छौं । सचिवालयको टिम आएर अहोरात्र खटिरहेका छन् । हाम्रो व्यवस्थापन उत्कृष्ट ढंगकै हुन्छ । त्यसमा कुनै कमजोरी सकेसम्म हुन दिने छैनौं । म आफैं दिनभर बसेर काम लगाएको छु । कुनै समस्या पर्ने अवस्था छैन । हल भने सोचेभन्दा अलि सानो छ । हल अलि ठूलो भइदिएको भए दर्शकदीर्घालाई सजिलो हुने थियो ।
स्थायी प्रकृतिको तयारी के छ ?
अरूको कार्यालयको हकमा हामीलाई कुनै चिन्ता भएन वासुदेव सभा गृह छ, जुन राष्ट्रिय सभा गृहजस्तै ठूलो छ । त्यसकोकेही फिसिनसिङका काम बाँकी छन् ।
निर्माणको काम भइसकेको छ । अर्को पटकलाई त्यो हलको तयारीमा छौं । जहाँ ७ सय क्षमताको हल हो ।
‘युवा पलायन रोक्न आवाज उठाउँछु’
सिर्जना सैंजू
कान्छी सांसद, नेमकिपा
कान्छी सांसद बन्न पाउँदा कस्तो अनुभव भएको छ ?
त्यस्तो अचम्मको अनुभूति त केही भएको छैन । स्वाभाविक लागि रहेको छ । बैठकको हुनेबारे टुंगो पहिला नै लागेको हो । हामीलाई सूचना आएअनुसार बिहीबार बैठक हुने भन्ने कुरा भएको थियो । तर हामी आइपुग्दा पनि तयारी पूरा भइसकेको थिएन । यो देखेर भने अहिले दु:ख लाग्यो ।
कसरी सबैभन्दा कान्छी सांसद हुनुभयो ?
निर्वाचन आयोगअघि सांसदको प्रमाणपत्र वितरण भएको थियो । त्यो बेला सबैभन्दा कान्छी मै रैछु भन्ने थाहा भयो । अहिले २७ वर्षकी भएँ ।
प्रदेश राजधानी टाढा भएजस्तो लागेन ?
भक्तपुर वा काठमाडौंमै राख्यौं भने देशको सन्तुलित विकास नहोला । काठमाडौं त आफैं विकसित छ । विकेन्द्रित गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ हो । त्यही भएर सन्तुलित विकास हुने ठाउँमा प्रदेश राजधानी हुनुपर्छ ।
पार्टीमा के हुनुहुन्छ ?
केन्द्रीय सदस्य हो । यसअघि स्ववियु निर्वाचनमा भाग लिएको थिए । अहिले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकमा प्रदेश सांसद भएकी छु ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा मास्टर्सगरेको छु । म संसाद भएर सम्पूर्ण युवाहरूको प्रतिनिधित्व गरेकी छु । युवाहरूको पक्षमा मेरो आवाज अवश्य उठाउनेछु । बर्सेनि युवा पलायन बढ्दो छ । यसलाई रोक्न मेरो पहल रहनेछ ।
source : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL