प्रेमिकाका लागि श्रीमतीको हत्या !!
१६ पुस २०५६ । ईस्वी संवत्अनुसार नयाँ वर्षको अघिल्लो दिन । राजधानीमा अंग्रेजी नयाँ वर्षको उमंग सुरु भइसकेको थियो । प्रहरी पनि न्यु इयर इभको सुरक्षा तयारीमा जुटेको थियो । बिहानै एक युवती स्टोभ पड्किएर गम्भीर घाइते भएको सूचना प्रहरीमा आयो । पुरानो सिनामंगल बस्ने २४ वर्षीया रिना श्रेष्ठ आगो लागेर गम्भीर घाइते भएकी थिइन् । श्रीमान् नवराज श्रेष्ठले नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीको एउटा टोली घटनास्थल पुगेर मुचुल्का तयार पार्यो । घाइते रिनालाई अस्पताल पुर्याइसकिएको थियो । रिनाका श्रीमान् नवराजसँग प्रहरीले घटना विवरण लियो । स्टोभका सामान कोठामा यत्रतत्र छरिएका थिए । तर, स्टोभ नै पड्किएजस्तो अवस्था भने थिएन । ‘भात तताउन खोज्दा स्टोभ पड्किएको हुन सक्छ, अथवा उसले आत्महत्या गर्न खोजेको हुन सक्छ, मैले ड्रिंक्स गरेकाले मलाई राम्रोसँग होस भएन,’ घटनाबारे नवराजले प्रहरीलाई बताए । श्रीमतीले आत्महत्या गरेको हुन सक्ने उनको भनाइले नै प्रहरीले घटनालाई थप शंकास्पद रूपमा लियो । न्यु इयर इभ भएकाले त्यही बहानामा नवराजले पिएका थिए । उनी राति २ बजे अत्यधिक मदिरा पिएर कोठामा फर्किएका थिए । आफू फर्किएपछि श्रीमतीले खाना तताउन लागेको, तर आफू सुतेको उनको भनाइ थियो । मातिएर आएकाले तुरुन्तै निदाएको र केही थाहा नभएको उनले बताएका थिए । पछि, श्रीमती कराउन थालेपछि आफूले अस्पताल पुर्याएको उनको बयान थियो । घटना झन् शंकास्पद रिनाको ८० प्रतिशत शरीर जलेको थियो । उपचारका क्रममा भोलिपल्ट शिक्षण अस्पतालको आइसियूमा उनले संसार छाडिन् । अन्तिम सास लिनुअघि उनले भनिन्, ‘मैले आत्महत्या गरेको होइन, आगो लगाइदिएको हो ।’ घटना थप शंकास्पद भयो । त्यसमाथि रिनाले नै आत्महत्या नगरेको बताएपछि प्रहरीले नवराजलाई नियन्त्रणमा लियो । मृत्युपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढायो । स्टोभ पड्किएजस्तो घटनास्थलको अवस्था थिएन । स्टोभका सामान निकालेर कोठामा छरिएकोजस्तो थियो । शरीर पनि स्टोभ पड्किएर जलेजस्तो थिएन । सुरुमा प्रहरीले मट्टीतेल छर्किएर आत्महत्या गरेको हुन सक्ने अनुमानका आधारमा अनुसन्धान अघि बढाएको थियो । तर, रिनाकी आमा शान्ति श्रेष्ठले सो कुरा सीधै अस्वीकार गरिन् । उनले प्रहरीसँग भनिन्, ‘मेरी छोरी आत्महत्या गर्ने कमजोर केटी होइन, ऊ मेरो उपचारका लागि तयारी गरिरहेकी थिई ।’ अदालतले दियो सफाइ पछिल्लो समय नवराजको एक युवतीसँग निकटता बढेको थियो । रिनासँग उनको बारम्बार झगडा हुन्थ्यो । प्रेमिकाकै लागि भनेर उनले श्रीमतीको हत्या गरी स्टोभ पड्किएर मृत्यु भएको नाटक गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो । नयाँ पत्रीका मा खबर छ







