दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ
जेलमा रहनुभएका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नीलाई सेयर मूल्य हेरफेर र घूसलगायतका थुप्रै आरोपमा पक्राउ गरिएको छ ।
पूर्व प्रथम महिला किम क्योन हीले मंगलबार सिओलमा भएको चार घण्टे अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरेपनि प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्ने आदेश जारी गरेको छ ।
दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरूलाई अभियोग लगाएर कारागारमा पठाउने लामो इतिहास छ । तर, पहिलोपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवैजना जेलमा परेका छन् ।
युनलाई गत वर्षको ‘असफल मार्शल–ल प्रयास‘का कारण मुलुकमा उत्पन्न अराजकता र आफ्नो पदच्युतसम्बन्धी मुद्दामा यसै वर्षको गत जनवरीमा पक्राउ गरिएको हो ।
५२ वर्षीया किमले दक्षिण कोरियामा बीएमडब्ल्यू विक्रेता डोइच मोटर्सका सेयरसम्बन्धी मूल्य हेरफेर योजनामा सहभागी भई ८० करोड वोन (५७७,९४० अमेरिकी डलर) भन्दा बढी कमाएको अभियोग लगाइएको छ ।







