वाणिज्य बंैकहरूले घटाए ब्याजदर
काठमाडौं–सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुनकै ब्याजदरलाई यथास्थितिमा राखेका छन्।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाइएको हो।
२० वाणिज्य बैंकले फागुनमा व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत दिँदै आएकामा चैतका लागि ७.२५ मा झारेका छन्। १७ वटा बैंकले चैतका लागि ब्याजदर घटाएका छन्। बैंकहरूले मुद्दती निक्षेपमा विभिन्न शीर्षकअनुसार विभिन्न किसिमका ब्याजदर तोकेका हुन्छन्।
पछिल्ला महिनामा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाइरहेका छन्। निक्षेप ब्याजदर घटे पनि कर्जा ब्याजदर अझै महँगो भएको व्यवसायीको गुनासो सुनिँदै आएको छ।
उच्च ब्याजदर र अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ। बैंकहरूले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति लिएका हुन्।
एनआईसी एसिया बैंकले फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ। बैंकले चैतदेखि लागू हुने गरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ८.५४८ प्रतिशत बनाएको छ।
माघमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९.१५ प्रतिशतसम्म थियो। फागुनमा सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर ८.५० प्रतिशतमा झरेको थियो। चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ।
बैंकहरूले गत साउनदेखि निक्षेप ब्याजदरमा कायम गर्दै आएको सहमति खारेज भएसँगै स्वैच्छिक रुपमा तरलता आवश्यकताअनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन्।
व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ।







