दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी
कञ्चनपुरको दोधाराचाँदनीवासीलाई अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा पुनः उपलब्ध गराउने प्रयासमा खटिएका सशस्त्र प्रहरीका एक जना सहायक निरीक्षक (असई) महाकाली नदीमा बेपत्ता भएका छन् ।
बर्दिया घर भई सशस्त्र प्रहरी बल नेपालको देवीस्थान गुल्म, दोधाराचाँदनीमा कार्यरत २५ वर्षीय सागरराज थारु शनिबार दिउँसो नेपाल टेलिकमको तार नदीपारि तान्ने क्रममा रबर बोटबाट खसेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार शनिबार दिउँसो दोधाराचाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने महाकाली नदीमाथि रहेको झोलुङ्गे पुल हुँदै तार तान्ने क्रममा घटना भएको हो । घटनापछि तत्काल गोताखोरसहितको टोली परिचालन भएर अबेर साँझसम्म खोजतलास गरेको थियो ।
महाकाली नदीको सीमावर्ती भारतीय क्षेत्रमा शारदा नदीमा भारतीय सुरक्षाकर्मीको टोलीले समेत खोजी गरेको थियो । तर, थारु फेला नपरेपछि रातिका लागि खोजी स्थगित गरिएको थियो । आइतबार बिहानैदेखि पुनः खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । आइतबार पनि गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
गत असोज १४ गते महाकाली नदीमाथि रहेको दोधाराचाँदनी र भीमदत्त नगरपालिका जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको एउटा पिलर बगाएको थियो । पिलर खसेपछि पुलसँगै रहेका टेलिफोन र इन्टरनेटका तारसमेत टुटेका थिए । त्यसयता दोधाराचाँदनीमा तारमार्फत सञ्चालन हुँदै आएको सञ्चार सेवा प्रभावित भएको थियो ।
अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गरेर स्थानीय बासिन्दालाई टेलिफोन र इन्टरनेटको पहुँचमा ल्याउने उद्देश्यले तार तान्ने काम गरिएको दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताए । स्थानीयलाई सञ्चार सेवासँग पुनः जोड्ने प्रयासमा सशस्त्र प्रहरीको सहयोग लिइएको थियो ।
सोही क्रममा भएको दुर्घटनामा असई थारु बेपत्ता भएका हुन् । तार तान्ने काममा रबर बोटमा सवार छ जना सशस्त्र प्रहरी र एक जना अन्य व्यक्ति गरी सात जना खटिएका थिए । बोटबाट खसेका थारु बेपत्ता भए पनि अन्य छ जना सकुशल रहेका छन् ।
तालिमप्राप्त उद्धारकर्मीसमेत रहेका थारु यसअघि विभिन्न घटनामा उद्धार कार्यमा संलग्न भएर थुप्रै व्यक्तिको ज्यान जोगाउन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । अरूको उद्धारमा खटिँदै आएका उनी यस पटक भने आफैँ महाकाली नदीमा बेपत्ता भएका छन् ।
दोधाराचाँदनीवासीलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन गरिएको प्रयासका क्रममा भएको यस घटनापछि उनको खोजीमा नेपाली सुरक्षाकर्मीको टोली परिचालित छ । आइतबार पनि गोताखोरसहितको टोलीले महाकाली नदीमा खोजतलास जारी राखेको छ ।







