भारतलाई बिजुली बेचेर करिब ८ अर्ब आम्दानी
चार महिने अवधिमा नेपालले १ अर्ब युनिट बिजुली बिक्री गरेको प्राधिकरणको तथ्यांक
काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेचेर ७ अर्ब ९३ करोड २२ लाख बढी आम्दानी गरेको छ ।
करिब ४ महिने अवधिमा नेपालले १ अर्ब युनिट बिजुली बिक्री गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।
नेपालले भारतलाई गत जेठदेखि बिजुली बिक्री गर्न थालेको हो । ‘हामीले प्रतियुनिट औसत ७ रुपैयाँ २१ पैसामा भारतलाई बिजुली बिक्री गरिरहेका छौं,’ भट्टराईले भने ।
आन्तरिक उत्पादन बढ्दै जाँदा पहिलो चरणमा नेपालले इन्डियन इनर्जी एक्सचेन्जमा ३९ मेगावाट बिजुली बिक्री गरेको थियो । प्राधिकरणले पहिलो चरणमा नुवाकोटमा सञ्चालित त्रिशुली जलविद्युत्बाट २८ मेगावाट र देवीघाटबाट १५ मेगावाट बिजुली बेचेको थियो ।हाल विभिन्न ६ जलविद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा बिक्री हुँदै आएको छ ।







