नेपालमा सुरु भयो श्रमिक बैंक
बेरोजगारको तथ्यांक संकलन गरी उनीहरुलाई रोजगारी दिने लक्ष्यसहित श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमिक सूचना बैंक सुरु गरेको छ । नेपालमा पहिलो पटक सरकारी पहलमा श्रमयोग्य व्यक्तिगत विवरण खोजेर श्रम बजारमा उपलब्ध रोजगारी र श्रमिकका योग्यताबारे जानकारी गराउने उद्देश्यले यस्तो बैंकको अवधारणा सुरु भएको हो ।
नेपालको श्रम बजारमा औपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकहरुको आधिकारिक तथ्यांक उपलब्ध भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार तथा श्रमिककोे आधिकारिक तथ्यांक सरकारी संस्था तथा मजदुर संगठनमा अभिलेख छैन ।
कोरोना संक्रमणपछि उत्पन्न समस्याका कारण अहिले नेपालमा कति कर्मचारी तथा श्रमिकले रोजगारी गुमाए, कति समस्यामा छन्, अनौपचारिक क्षेत्रमा रहेकाको रोजगारी अवस्थाको तथ्यांक नै पाउन मुस्किल भएका बेला सरकारले यस्तो बैंकको अवधारणा ल्याएको हो ।
मन्त्रालयले यस बैंकमार्फत रोजगारदाता र बेरोजगारबीच मध्यस्थकर्ताको भूमिकामा रहेर रोजगारीका क्षेत्र र जनशक्तिको मागलाई समन्वय गर्नेछ । यो बैंक पनि रोजगार व्यवस्थापन सूचना प्रणालीअन्तर्गतकै अंग रहेको मन्त्रालयको भनाइ छ । श्रमिक सूचना बैंक ‘जब पोर्टल’ सहित ‘जब सर्च’ र ‘जब एक्सचेन्ज सेन्टर’ का रुपमा सञ्चालन हुनेछ ।
मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डे रोजगारदाता र बेरोजगारहरु उक्त बैंकमा दर्ता हुनुपर्ने प्रावधान रहेको बताउँछन् ।
रोजगारदाताले आफ्नो आवश्यकताअनुसारका कर्मचारी तथा श्रमिक खोज्न र बेरोजगारहरुले रोजगारी पाउनका लागि बैंकमा दर्ता हुनुपर्नेछ । यसका लागि ७ सय ५३ वटै स्थानीय तहले सहकार्य गर्नेछन् ।







