विश्वका पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं– प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि विश्वविख्यात नेपाल भ्रमण गर्न प्रधानमन्त्री केपी ओलीले विश्वका पर्यटकलाई आग्रह गरेका छन्। विश्वका छानिएका भ्लगरको लुक्ला विमानस्थलदेखि सगरमाथा आधारशिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स ः गेम अफ हिमालयज’ को प्रिमियर सो कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्को पटक आफैं आऊँआऊँ लाग्ने दाबी गरे। रियालिटी सोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वलाई चिनाउन थप मद्दत पुग्ने उल्लेख गर्दै उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवनको सार्थक अर्थ नहुने औंल्याए।
नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जंगल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उनको भनाइ थियो।
प्रिमियर सोमा लुक्ला विमानस्थल खतरायुक्त विमानस्थलका रुपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने तर्क राख्दैै लुक्ला विमानस्थलमा उडानका लागि अति तालिमप्राप्त र अनुभवी पाइलट मात्रै खटिने जानकारी दिए।
उनले भने, ‘म धेरै पटक विमान चढेर लुक्ला पुगेको छु, विमानस्थल खोंचमा रहेको र धावनमार्ग सानो भए पनि त्यहाँ दैनिक ८५ उडान हुन्छन्। अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन। त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन। विमानस्थल सुरक्षित छ।’
प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमाल कञ्चनजंघा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरिलगायत रहेको बताए। प्रिमियर सो हेर्न प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी दूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकारलगायत उपस्थित थिए।
श्री गुरुङद्वारा निर्देशित रियालिटी सोमा नेपालसहित ६ देशका ११ जना १९ देखि ३० वर्ष उमेरका युवा भ्लगर सहभागी छन्।