मूल्यवृद्धि ४।६१ प्रतिशत
काठमाडौं– नेपाल राष्ट्र बैंकले चैतको मुद्रास्फीति ४।६१ प्रतिशत रहेको जानकारी दिएको छ। चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको विवरण सार्वजनिक गरेको हो। गत वर्षको सोही अविधमा मुद्रास्फीति ७।७६ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थको मुद्रा स्फीति ५।२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४।१४ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार चालू आवमा तराई र पहाडको तुलनामा काठमाडौं उपत्यका तथा हिमालमा मुद्रास्फीति कम रहेको छ। चैतमा हिमालको मुद्रास्फीति ४।३२ प्रतिशत रहेको छ। उपत्यकाको मुद्रास्फीति ४।०६ प्रतिशत, तराईको मुद्रास्फीति ४।५८ प्रतिशत र पहाडको ५।३३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। त्यस्तै वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४।९४ प्रतिशत रहेको र फागुनको तुलनामा उक्त मुद्रास्फीति कम रहेको राष्ट्र बैंकको भनाइ छ। फागुनमा थोक मुद्रास्फीति ५।५९ प्रतिशत रहेको थियो।