भ्रष्टाचारको सूचकांकः नेपाल १०८औं स्थानमा
काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वसका १८० देशलाई समेटेर तयार पारेको भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल १०८औं स्थानमा परेको छ। नेपालले १०० नम्बरमा ३४ ल्याएर गत वर्षभन्दा यो वर्ष दुई स्थान तल झरेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२३ मा उल्लेख छ।
गत वर्ष नेपाल ३५ अंक पाएर ११०औं स्थानमा थियो।
ट्रान्सपरेन्सी विवरणअनुसार यो वर्ष पनि दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ। भुटान ६८ अंकका साथ २६औं स्थानमा छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ।
ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११ अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुक बनेको छ।
यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देश अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्छन्।
गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए पनि भ्रष्टाचार बढी हुने मुलुकको श्रेणीमै रहेको टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले जानकारी दिइन्।
ट्रान्सपरेन्सी इन्टरनेसनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा वर्गीकरण गरी २९ वर्षदेखि विभिन्न देशमा हुने गरेको भ्रष्टाचारको सूचक सार्वजनिक गर्दै आएको छ।
प्रतिवेदन विश्वभर आज एकैपल्ट सार्वजनिक गरिएको हो।