दुग्ध विकास संस्थानले २५ उत्पादनमा मूल्य घटायो
काठमाडौं– दुग्ध विकास संस्थानले दुग्ध पदार्थको मूल्य घटाएको छ । संस्थानले २५ प्रकारका उत्पादनको मूल्य घटाएको हो।
नयाँ मूल्यअनुसार संस्थानले आधा लिटरको पोली प्याकको दहीको मूल्य १० रुपैयाँ घटाएर ७५ रुपैयाँ बनाएको छ।
त्यस्तै, एक लिटर जारको दहीमा २० रुपैयाँ घटाएर एक सय ७० रुपैयाँ, आधा लिटर जार दहीको मूल्य १० रुपैयाँ घटाएर ९० रुपैयाँ, दुई लिटर जारको दहीमा ४० रुपैयाँ घटाएर तीन सय ३५ रुपैयाँ, प्रोबायोटिक दही एक टिलर जारमा २० रुपैयाँ घटाएर दुई सय रुपैयाँ बनाएको जनाएको छ ।
त्यस्तै, एक सय मिलीकपको दहीमा पाँच रुपैयाँ र दुई सय मिलिकपको दहीमा १० रुपैयाँ घटाएको जनाएको छ। थोक दही किन्दा प्रतिलिटर एक सय ४० रुपैयाँमा आउने कम्पनीको भनाइ छ।
त्यस्तै, कञ्चन चीज प्रतिकिलोमा तीन सय रुपैयाँ घटाएर एक हजार तीन सय रुपैयाँ, आधा किलोमा एक सय ५० रुपैयाँ घटाएर ६ सय ५५ रुपैयाँ, दुई सय ग्राममा ६५ रुपैयाँ घटाएर दुई सय ६५ रुपैयाँ बनाएको कम्पनीले बताएको छ।
यस्तै, याक चीज एक किलोमा दुई सय ८० रुपैयाँ घटाएर एक हजार ६ सय रुपैयाँ, आधा किलोमा एक सय ५० रुपैयाँ घटाएर आठ सय १० रुपैयाँ, दुई सय ग्राममा ६५ रुपैयाँ घटाएर तीन सय तीस रुपैयाँ, एक सय ग्राममा ३० रुपैयाँ घटाएर एक सय ७० रुपैयाँ बनाएको छ।
संस्थानले फ्रेस मिल्क दुई सय मिलिबोतलको मूल्य पाँच रुपैयाँ घटाएर ७० रुपैयाँ बनाएको छ । त्यस्तै, पनिर एक केजीको आठ सय रुपैयाँ, आधा केजीको चार सय पाँच रुपैयाँ, दुई सय ग्रामको एक सय ६५ रुपैयाँ र एक सय ग्रामको ९५ रुपैयाँ बनाएको जनाइएको छ।