विदेश रोजगारीका नाममा १० करोड ठगी गर्ने लामा पक्राउ
काठमाडौं–युवाबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ का लालबहादुर लामा १० करोड बढी रकम ठगी आरोपमा पक्राउ परेका हुन्।
४७ वर्षीय लामालाई श्रीस्टार ट्रेनिङ सेन्टरमार्फत बेरोजगार युवालाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सुवास वाइबा, राजेश तुम्सिङ मगर, दाबा लामालगायतलाई लिथुआनिया, क्यानडा, सिंगापुरजस्ता मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थिए।
उजुरीपछि अनुसन्धान गर्दै जाने क्रममा उनले आफ्नो मेनपावरमार्फत बेरोजगार युवाबाट ५ लाखदेखि १५ लाखसम्म लिने गरेको पाइएको प्रहरीको भनाइ छ। तर, वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत पाइएको उनको भनाइ छ।
प्रहरीले लामालाई शंखमूलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा १० करोड बढी रकम उठाएको पाइएको रेग्मीले बताए। प्रहरीले उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद गरेको छ।







