अर्थ बाणिज्य / समाज
Friday, 6 Oct, 2023
अग्रिम बुकिङ नखुल्दै टिकट काउन्टरमा सर्वसाधारणको भीड
काठमाडौं– यातायात व्यवसायीले भाडा बढाउनुपर्ने माग राखेर अग्रिम टिकट बुकिङ नखुलाए पनि दसैं नजिकिएसँगै घर जान नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट लिन सर्वसाधारणको भीड लाग्न थालेको छ ।
दसैं आउन करिब १० दिन मात्र बाँकी रहँदा पनि बस व्यवसायीले टिकट बुकिङ खोल्नतर्फ चासो दिएका छैनन् । बसको टिकट नखुल्दै सर्वसाधारण टिकट लिन बसपार्कको टिकट काउण्टर पुगेका हुन् ।
यो वर्ष अहिलेसम्म दसैँका लागि यातायातको अग्रिम टिकट बुकिङ खुलेको छैन । दसैँ–तिहारका बेला सबैभन्दा बढी यात्रु बोक्ने लामो दूरीका बसको भने अहिलेसम्म टिकट खुलेको छैन । स्वचालित भाडादर लागू हुनुपर्ने माग राख्दै आएका व्यवसायीले वर्षाका कारण बिग्रिएका सडक मर्मत नभएसम्म टिकट नखुलाउने बताएका छन् ।
दसैं–तिहार मनाउन बर्सेनि १८ देखि २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।