पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।
असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ।
‘हिन्दु नारीहरूको महान् चाड हरितालिका (तीज) पर्व आगामी २०८० असोज १ गते सोमबार पर्ने भएकोले सो पर्वलाई ध्यानमा राखी भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कसैले पनि मास. मंदिरा तथा नशालु पदार्थहरू उत्पादन बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आगामी भदौ ३१ गतेदेखि नै लागू हुने गरी पूर्ण रूपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ।
यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
