रिलिजको दुई सातामै निर्मातालाई रकम
निर्माता संघ–चलचित्र संघ सहमति
काठमाडौँ — एक त फिल्म प्रदर्शनमा आर्थिक अपारदर्शिता खेपिरहेका नेपाली फिल्म निर्माताहरूले प्रदर्शकबाट निकालिदिएको रकमसमेत लामो समयसम्म भुक्तान नपाउने अप्ठयारो रहँदै आएको छ । सोमबार नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच अबउप्रान्त फिल्म हलबाट उत्रेको दुई साताभित्र निर्माताले रकम पाउने गरी सहमति भएको छ ।
दुई संस्थाका प्रतिनिधिको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मल्टिप्लेक्स चलचित्र घरको सेयरको रकम प्रत्येक सातामा चलचित्र प्रदर्शनपश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई साताभित्र अनिवार्य रूपमा भुक्तानी गर्नुपर्नेछ । सिंगल स्टेसनको हकमा चलचित्र उत्रेको दुई साताभित्र भुक्तानी गर्नुपर्नेछ ।’ भुक्तानी नभएको खण्डमा संयुक्त कार्यदलले हर्जानासहित कारबाही गर्ने/गराइने प्रावधान राखिएको छ ।
चलचित्र निर्माता संघको रोहबरमा फिल्म सम्बद्ध विभिन्न संघसंस्थाले केही दिनदेखि फिल्म प्रदर्शनपछिको सेयर बाँडफाँड वैज्ञानिक र न्याय संगत हुनुपर्ने माग राख्दै चलचित्र संघविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । सम्झौतापछि आन्दोलनरत फिल्म निर्माता/निर्देशकले जेठ पहिलो सातादेखि हल बन्द गराउने पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । चलचित्र संघले मल्टिप्लेक्समा निर्माता, वितरकलाई पहिलो साता ५० प्रतिशत सेयर दिन राजी भएको छ। त्यसैगरी फिल्म हलले निर्माता वा वितरकको अनुमतिबिना पास जारी गर्न नपाइने, क्याबिनको हिसाब पनि उपलब्ध गराउनुपर्ने, कुनै पनि हल भाडा वा हल खर्च कटाउन नपाइने र प्रदर्शन उन्मुख फिल्मको ट्रेलर, ब्यानर, पोस्टर र स्टयान्डीलगायतको प्रचारप्रसार सामग्रीको दुई सातासम्म नि:शुल्क सेवा प्रदान गर्ने, गराउने गरी नयाँ सम्झौता गरिएको छ । त्यसो त यसअघि पनि कैयांै बुँदाका माग पूरा गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन । यसपटक भने कार्यान्वयनका लागि संयुक्त कार्यदल निर्माण गरी अघि बढ्न प्रदर्शक र निर्माताहरू सहमत भएका हुन् । १७ बुँदे सम्झौता दुई वर्षका लागि जेठ ४ देखि लागू गरिने उल्लेख छ ।
२०६० सालमै ४२ दिनसम्म आन्दोलन गरेपश्चात् निर्माता संघ र चलचित्र संघबीच साउन २३ मा काठमाडौंभित्र प्रदर्शित फिल्मका निर्माता/वितरकले पहिलो साता ५५ देखि ६० प्रतिशतसम्म सेयर रकम पाउने सहमति भए पनि कार्यान्वयन भने हुन सकेको थिएन । चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारीले अहिलेको उपलब्धिलाई आंशिक मान्दै यसलाई सुरुवाती सफलताको संज्ञा दिए । उता, निर्माताकै अर्को संस्था चलचित्र निर्माता संघ नेपालले भने उक्त सम्झौता निर्माताको हितमा नभएको भन्दै विरोध गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘बक्सअफिस संचालनमा नल्याइन्जेलसम्म सिन्डिकेट प्रवृत्तिबाट गरिने बाँडफाँडप्रति हाम्रो पूर्ण असहमति छ ।’आजको
मा खबर छ।







