प्रचार गर्दै त्रिवि पुग्यो लम्फू
लम्फू फिल्म युनिट बुधबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर पुग्यो । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आयोजना गरेको कला, साहित्य एवं सांस्कृतिक कार्यक्रममा लम्फूका शीर्ष अभिनेता कविर खड्का, सञ्जित भण्डारी र आयान खड्काले त्यहाँ उपस्थित ५ सयभन्दा बढी विद्यार्थीसँग साक्षात्कार गरे ।
केही दिनअघि मोफसलका विभिन्न स्थानमा पुगेर प्रचारप्रसार गरिएको फिल्म यही शुक्रबार अर्थात् २८ वैशाखदेखि प्रदर्शन हुँदै छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको फिल्म बेरोजगारी, युवाको विदेशमोह र समसामयिक राजनीतिक परिस्थतिको विषयमा निर्माण गरिएको छ ।
कार्यक्रममा अभिनेता कविरले फिल्मले मनोरञ्जनका साथै युवा जागरणको सन्देश पनि प्रवाह गर्ने बताए । उनले लम्फू आफ्ना लागि अग्निपरीक्षा भएको बताउँदै सबैलाई फिल्म हेरिदिन आग्रह गरे ।
फिल्मका अर्का कलाकार सञ्जितले त्रिविमा फिल्मको प्रचार गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले लम्फू रमाइलो फिल्म बनेकाले सबै वर्गका दर्शकले हेर्नुपर्ने जिकिर गरे । कार्यक्रममा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, गजलकार ज्ञानुवाकर पौडेल, गीतकार दिग्गज धौलारी पनि उपस्थित थिए ।
कविर, सञ्जित र आयनका साथमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, कुसुम श्रेष्ठ (तरकारीवाली), अजित लामिछानेलगायतले अभिनय गरेको फिल्म दीपक बज्रचार्यले खिचेका हुन् ।
भूपतिले लेखेको फिल्मलाई हरि सिलवालले सम्पादन गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको लम्फूमा रामजी लामिछाने र शिव विकको कोरियोग्राफी छ । निर्देशक लामिछाने र निर्माता घोरासैनीले यसअघि किन लाग्छ माया फिल्म निर्माण गरेका थिए ।आजको नयाँ पत्रिकामा खबर छ।







