हेलामा हेमोफिलियाका बिरामी
पुस १, २०७४-ताहाचलका आर्यन खडका जन्मँदै हेमोफिलिया भएका थिए । पाँच वर्षीय खडकाको गत साता पहिलोपटक दुधेदाँत फुुक्लिँदा निकैबेर रगत रोकिएन । यही कारण उनलाई अस्पतालको इमर्जेन्सीमै भर्ना गर्नुपर्यो । ‘सानो ठक्कर लाग्दा पनि अस्पताल कुदाइहाल्नुपर्छ, लडेर घाउ होला भन्ने डरले स्कुलसमेत पठाइएको छैन,’ आमा आशाले सुनाइन् ।
रक्तरोग विशेषज्ञ डा. विशेष पौडेल हिमोफिलिया एक वंशानणुगत समस्या भएको बताउँछन् । ‘यस्तो अवस्थाका व्यक्तिलाई कुनै शारीरिक चोटपटक लागेमा रक्तस्राव रोकिँदैन,’ उनले भने, ‘आन्तरिक रूपमा हुने रक्तस्रावका कारण पनि बिरामीको जीवन खतरामा रहन्छ ।’ रगतमा विशेष प्रकारको प्रोटिन तत्त्व कमीले लामो समयसम्म रगत नरोकिँदा जोर्नी
बिगार्छ, समयमा रक्तस्राव रोक्न नसकिए बिरामीको मृत्युसमेत हुन सक्ने र अपांग पनि बनाउन सक्ने डा.पौडेल बताउँछन् ।
रक्तरोग विशेषज्ञहरूका अनुसार यो अवस्था आउनु महिलामा भन्दा पुरुषमा बढी सम्भावना छ । यस्ता बिरामीलाई आजीवन औषधि सेवन गर्नुपर्ने, आन्तरिक रक्तस्राव भए आकस्मिक शल्यक्रिया गर्नुपर्ने र शल्यक्रियाकै क्रममा रगत नरोकिएर उपचार निकै जोखिमयुक्त हुने विशेषज्ञ डा. अमित श्रेष्ठले बताए ।
नेपालमा हालसम्म हिमोफिलियाको औषधि किन्न पाइन्न । यो निकै महँगो हुने हुँदा सरकारले पनि आयात गरेर सर्वसुलभ गर्न सकेको छैन । रक्तस्राव रोक्न मद्दत गर्ने औषधि अमेरिका, युरोपजस्ता विकसित मुलुकमा मात्रै बन्ने हुँदा बिरामीहरू अनुदानको औषधिकै भरमा बाँचिरहेको नेपाल हेमोफिलिया सोसाइटीका पूर्वअध्यक्ष वेदराज ढुंगानाले
बताए । ‘नेपालमै औषधि सर्वसुलभ हुनुपर्यो भनेर सरकारसँग धेरैपटक आग्रह गरे पनि सुनुवाइ भएन,’ उनले गुनासो गरे ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिदस हजारमा एक जनामा यस्तो समस्या देखिन्छ । नेपालमा भने हेमोफिलियाका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभएको ढुंगानाले बताए । ‘यसबारे कुनै अध्ययन नै गरिएको छैन,’ उनले भने, ‘हालसम्म सोसाइटीको सम्पर्कमा ६ सय ७ बिरामीमा आएका छन् ।’ देशभर हेमोफिलियाबाट करिब ३ हजार व्यक्ति पीडित रहेको ढुंगाना बताउँछन् । यस रोगबारे चेतना नभएकाले धेरै बिरामी उपचार अभावले ज्यान गुमाउन बाध्य छन् ।
बाँचेकालाई पनि घाउ लागेर रगत बग्ला भन्ने डरले सधैं निश्चित घेरामा सीमित राख्नुपर्ने उनले बताए । हेमोफिलियाले व्यक्तिको स्वास्थ्यमात्रै होइन, शारीरिक, सामाजिक र आर्थिक पक्षमा समेत असर गरेको उनको भनाइ छ । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन ७४ ले हेमोफिलियालाई अपांगता व्याख्या गरेको छ ।
source ; kantipur







