विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू
धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएको नयाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन् ।
चलचित्रमा समावेश केही दृश्यहरूलाई लिएर सर्वत्र आलोचना भएपछि गृह मन्त्रालयले यस्तो कदम चालेको हो ।
सञ्चार मन्त्रालयका एक कर्मचारीका अनुसार गृहमन्त्रीबाट हाललाई चलचित्रको प्रदर्शन रोक्न मौखिक निर्देशन आएको छ। ‘अहिलेलाई प्रदर्शन रोक्नु भनेर मौखिक खबर आएको छ, यस विषयमा भोलि औपचारिक प्रक्रिया अगाडि बढ्छ,’ ती कर्मचारीले बताए ।
यद्यपि कलाकार हरिवंश आचार्यले भने मन्त्रालयबाट अहिलेसम्म चलचित्र टिमलाई कुनै आधिकारिक जानकारी नआएको बताए ।
चलचित्रमा हिन्दु धर्मग्रन्थकी पात्र द्रौपदीलाई बारमा नचाइएको लगायतका आपत्तिजनक र विवादास्पद दृश्यहरू राखिएको भन्दै सामाजिक सञ्जाल र धार्मिक वृत्तमा यसको चर्को विरोध भइरहेको छ । हिन्दु धर्मसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूले पाँच पाण्डव र द्रौपदीलाई गलत हिसाबले चित्रण गरिएको भन्दै सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर तत्काल प्रदर्शन रोक्न माग गरेका थिए।
यही महिनाको २० गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाललगायत कलाकारहरूको मुख्य भूमिका छ।







