एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट
नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरू हुँदैछ।
कीर्तिपुर मैदानमा आज अपराह्न साढे ४ बजे तेस्रो संस्करणको एनपिएलको उद्घाटन खेल हुनेछ।
उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहने लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहने सुदूरपश्चिमको भिडन्तले अघिल्लो संस्करणको फाइनल खेलको झल्को दिनेछ।
दोस्रो संस्करणको फाइनलमा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए।
त्यतिबेला सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो।
लुम्बिनी गत सिजनको विजेतका हिसाबले सुखद सुरूवात गर्ने लक्ष्यमा रहनेछ भने अघिल्लो हारको बदला लिने दाउमा सुदूरपश्चिम रहनेछ।
यसपालिको एनपिएलमा के-के हुँदैछ नयाँ?
विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग हुने कुराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन तातेको छ।
प्रतियोगितामा यसपटक अघिल्ला दुई संस्करणभन्दा केही महत्त्वपूर्ण परिवर्तन भएका छन्।
अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता विश्वचर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको चर्चा बढाएको छ।
त्यसमा आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधि, विदेशी खेलाडीको अनुबन्धमा थप सहजता र कीर्तिपुर मैदानमा सुधारिएका सुविधाले यसपटकको एनपिएललाई थप विशेष बनाएका छन्।







