Breaking News Wednesday, 4 Nov, 2026
Prestige Media

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मूल्यांकनका रूपमा हेरिएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्र्याटिक पार्टीले अग्रता लिएको छ।

सिनेटको एउटा महत्त्वपूर्ण सिट रिपब्लिकनबाट खोस्दै डेमोक्र्याटिक उम्मेदवारहरूले केही प्रतिस्पर्धात्मक क्षेत्रमा जित हासिल गरेका छन्।

प्रतिनिधिसभामा पनि डेमोक्र्याटिक पार्टीले बहुमत फर्काउने सम्भावना बलियो बनाएको भनेर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।

एपीका अनुसार नर्थ क्यारोलिनामा डेमोक्र्याटिक उम्मेदवार रोय कुपरले रिपब्लिकन उम्मेदवार माइकल वाट्लीलाई पराजित गरेका छन्। यससँगै डेमोक्र्याटिक पार्टीले रिपब्लिकनको कब्जामा रहेको सिनेटको एउटा सिट पनि खोसेको छ।

त्यस्तै, जर्जियामा डेमोक्र्याटिक सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्।

उनले रिपब्लिकन उम्मेदवार माइक कोलिन्सलाई हराएका हुन्। न्यु ह्याम्पसायरमा डेमोक्र्याटिक उम्मेदवार क्रिस पापसले रिपब्लिकन उम्मेदवार जोन सुनुनुलाई पराजित गरेका छन्।

भर्जिनियामा मार्क वार्नर, डेलावेयरमा क्रिस कून्स, रोड आइल्यान्डमा ज्याक रिड, न्यु जर्सीमा कोरी बुकर र म्यासाचुसेट्समा एड मार्कीले पनि सिनेटमा आफ्नो सिट सुरक्षित गरेको एपीले जनाएको छ।

इलिनोइसमा डेमोक्र्याटिक उम्मेदवार जुलियाना स्ट्र्याटन विजयी भएकी छन्। फ्लोरिडामा भने रिपब्लिकन उम्मेदवार एश्ली मुडी विजयी भएकी छन्।

सिनेटका १०० मध्ये ३५ सिटका लागि निर्वाचन भएको हो।

यसअघि रिपब्लिकनसँग ५३ र डेमोक्र्याटिकसँग ४५ सिट थिए। दुई स्वतन्त्र सिनेटरले डेमोक्र्याटसँग सहकार्य गर्दै आएका छन्।

सिनेटमा बहुमतका लागि डेमोक्र्याटले कम्तीमा चार सिट थप्नुपर्नेछ। नर्थ क्यारोलाइनामा जितसँगै उसले थप तीन सिट जित्नुपर्ने अवस्था छ।

प्रतिनिधिसभामा भने सबै ४३५ सिटका लागि मतदान भएको छ।

त्यहाँ बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। यसअघि रिपब्लिकनसँग २१८ र डेमोक्र्याटिकसँग २१२ सिट थिए।

बहुमत फर्काउन डेमोक्र्याटिक पार्टीले कम्तीमा तीन सिट थप्नुपर्नेछ।

एपीका अनुसार फ्लोरिडामा रिपब्लिकनले निर्वाचन क्षेत्रको सीमांकन परिवर्तन गरेर थप सिट जित्ने प्रयास गरे पनि त्यसअनुसार परिणाम देखिएको छैन।

डेमोक्र्याटिक उम्मेदवार जारेड मोस्कोविच र क्याथी क्यास्टरले आफ्नो निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन्। प्रतिनिधिसभाको नियन्त्रण कसले लिने भन्ने विषयमा भने अझै मतगणना जारी छ।

प्रारम्भिक नतिजासँगै सार्वजनिक भएका मतदाता सर्वेक्षणले पनि ट्रम्प र उनको प्रशासनप्रति असन्तुष्टि देखाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एसएसआरएसले अमेरिकी सञ्चारमाध्यमहरूको समूहका लागि गरेको एक्जिट पोलमा झन्डै ९० प्रतिशत मतदाताले जीवनयापनको खर्चलाई आफ्नो मतदान निर्णयमा महत्त्वपूर्ण विषय मानेका छन्।

करिब दुईतिहाइ मतदाताले बढ्दो मूल्यवृद्धिका लागि ट्रम्पलाई जिम्मेवार ठहर गरेका छन्।

त्यस्तै, तीनचौथाइ मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट वा आक्रोशित रहेको सर्वेक्षणले देखाएको छ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई समर्थन गरेका युवा, ल्याटिन अमेरिकी मूलका र अश्वेत पुरुष मतदातामाझ यसपटक रिपब्लिकनको समर्थन घटेको पनि रोयटर्सले उल्लेख गरेको छ।

१८ देखि २९ वर्ष उमेर समूहमा रिपब्लिकनको समर्थन सन् २०२४ मा ४० प्रतिशतभन्दा बढी रहेकामा यसपटक २५ प्रतिशतमा झरेको प्रारम्भिक सर्वेक्षणमा देखिएको छ।

गभर्नरको निर्वाचनमा पनि डेमोक्र्याटिक उम्मेदवारहरूले सफलता हासिल गरेका छन्।

पेन्सिलभेनियामा जोस शापिरो, इलिनोइसमा जेबी प्रिट्जकर, मेरिल्यान्डमा वेस मुर र म्यासाचुसेट्समा माउरा हिली पुनः निर्वाचित भएका छन्।

मध्यावधि निर्वाचनको नतिजाले ट्रम्पको बाँकी दुई वर्षको कार्यकालमा अमेरिकी संसद्मा उनको प्रशासनले पाउने राजनीतिक समर्थन निर्धारण गर्नेछ।

डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनको नियन्त्रण लिए पनि ट्रम्प प्रशासनका निर्णयमाथि निगरानी बढाउन र सरकारी नियुक्ति तथा विधेयकमा अवरोध गर्न सक्नेछ।

तर प्रारम्भिक नतिजाले डेमोक्र्याटिक पार्टीलाई केही महत्त्वपूर्ण सफलता दिलाए पनि दुवै सदनको नियन्त्रण कसले लिन्छ भन्ने स्पष्ट भइसकेको छैन

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

अर्नब चक्रवातको असर नेपालमा : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL