Breaking News Monday, 28 Sep, 2026
Prestige Media

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

चार दिनदेखि परेको अविरल भीषण वर्षाले सबभन्दा ठूलो क्षति कालीगण्डकी नदीको तटीय क्षेत्रमा पुर्‍याएको छ।

भीषण वर्षापछि कालीगण्डकीमा आएको बाढीले म्याग्दीदेखि पूर्वी नवलपरासीसम्म नदी तटीय क्षेत्रमा कटान र डुबान गरेको छ। बाढीले बस्ती, सडक र पुलमा ठूलो क्षति पुर्‍याएको छ।

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा मात्रै ६६ घर बाढीले बगाएको छ। कालीगण्डकी नदीमा बनाइएका पक्की पुलसमेत बगेका छन् भने कतिपय पक्की र झोलुंगे पुलमा क्षति पुगेको छ। दर्जनौं बस्ती डुबानमा परेका छन्। कालीगण्डकी करिडोर र आसपासका सडकहरू क्षतविक्षत भएका छन्।

बिहीबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा सुरू भएको थियो। शनिबार बिहानदेखि वर्षा झन् भीषण बनेपछि कालीगण्डकीमा पछिल्लो ३० वर्षयताकै ठूलो बाढी आएको स्थानीय प्रशासन र बासिन्दाले बताएका छन्।

म्याग्दीबाट सुरू भएको क्षतिको शृंखला कालीगण्डकीसँगै तलतिर फैलिँदै गएको छ।

म्याग्दीमा सडक, पुल र तटबन्धमा क्षति

कालीगण्डकीमा आएको बाढीले म्याग्दी सदरमुकाम बेनी नगरपालिका–१ आनन्दबगर र थाक्ने बगरमा क्षति पुर्‍याएको छ। थाक्ने बगरको बस्तीसमेत डुबानमा परेको छ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बाढीले विद्युतका पोल बगाएको छ भने बेनी–जोमसोम सडकमा ठाउँठाउँमा क्षति पुगेको छ। सडकमा क्षति भएपछि मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

बेनी–जोमसोम सडकअन्तर्गत खाम भित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ। यही सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरूङ–तातोपानीको नौली बगर जोड्ने पुलसमेत बाढीले बगाएको छ।

बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की तटबन्धको एमसिसी भवन नजिकको केही भागसमेत भत्किएको छ।

बाढीको तीव्र बहावले तटबन्धमा क्षति पुर्‍याएपछि नदी आसपास थप जोखिम बढेको छ।

फर्सेका ६६ घर बगे

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।

शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि प्रशासनले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। फर्सेमा रहेका ८० घरमध्ये ६६ वटा बाढीले बगाएको प्रहरीले जनाएको छ।

बाँकी घरहरूसमेत जोखिममा परेपछि स्थानीयले सामान अन्यत्र सार्न थालेका छन्।

यता बागलुङको प्रवेशद्वार मानिने मालढुंगा पुलसमेत कालीगण्डीको कटानका कारण जोखिममा परेको छ। बागलुङ र पर्वत जोड्ने उक्त मोटरेबल पुलको पर्वततर्फको मुख्य जगनजिकै निरन्तर पहिरो गएपछि जोखिम बढेको हो।

पुलमा क्षति पुगेपछि आवतजावत ठप्प भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्डमा पर्ने यो पुल करिब तीन दशकअघि निर्माण गरिएको हो।

नदीको धार परिवर्तन र कटानका कारण यसअघि पनि पुल जोखिममा पर्दै आएको थियो।

सेतीबेणीदेखि मिर्मीसम्म पुल र बस्ती डुबानमा

कालीगण्डकीमा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेणी बजारसमेत डुबानमा पारेको छ।

शालिग्राम शिलाका कारण देशभर परिचित सेतीबेणी बजार शनिबार दिउँसैदेखि डुब्न थालेको थियो। शनिबार रातिदेखि आइतबारसम्म परेको भीषण वर्षापछि कालीगण्डकीको बहाव बढ्दै गएपछि त्यहाँका ५० घर डुबानमा परेका छन्।

पर्वतको बिहादी गाउँपालिका–६ का ३० र स्याङ्जाको गल्याङ नगरपालिका–५ का २० घर डुबानमा परेका हुन्। आइतबार आएको बाढीले शालिग्राम शिलासमेत डुबाएको थियो।

त्यसैगरी बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने पक्की पुल बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने उक्त पुल बाढीले जगैदेखि बगाएको हो।

पुल बगेपछि मिर्मी हुँदै स्याङ्जा र गुल्मीबीच हुने यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधनजिकै रहेको उक्त पुल बगेपछि आयोजना क्षेत्रसमेत जोखिममा परेको छ। बाढीका कारण शुक्रबार रातिदेखि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको थियो।

आयोजनाका अनुसार सञ्चालनमा आएदेखि यति लामो समयसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको यो पहिलो पटक हो।

रानीमहलदेखि रिडीसम्म डुबान

कालीगण्डकीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल दरबारसमेत जोखिममा परेको छ।

नदी किनारमा रहेको रानीमहल दरबार डुबानमा परेको छ। दरबार आसपासका एक दर्जनजति होटल, पार्किङ क्षेत्र, बगैँचा लगायतका संरचना पनि बाढीमा डुबेका छन्।

प्रहरी चौकी रानीमहलका अनुसार शनिबार र आइतबार कालीगण्डकीको पानीको सतह सतर्कता तहभन्दा धेरैमाथि पुगेको थियो।

कालीगण्डकीको बहाव बढेपछि गुल्मीको धार्मिकस्थल रिडी पनि डुबानमा परेको छ। रूरू क्षेत्र गाउँपालिका–१ को रूरू–रिडी तटीय क्षेत्र बाढीको चपेटामा परेको हो।

स्थानीयका अनुसार कालीगण्डकीले पाल्पातर्फका एक दर्जन घरटहरा, ऋषिकेश मन्दिर तथा गुल्मीतर्फको खेलमैदान, कभर्डहल र केही व्यापारिक टहरा डुबाएको छ।

कालीगण्डकीमा निर्माण गरिएको पाल्पा, स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे पुलको माथिल्लो सतहसम्म पानी पुगेको थियो।

राम्दीमा पनि बाढीले धर्मशाला र घाट डुबाएको स्थानीयले बताएका छन्।

स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर जोड्ने केलादी पुलसमेत बाढीको जोखिममा परेको छ। कालीगण्डकीको पानी पुलको माथिल्लो सतहबाट बगेको थियो

नवलपुरतर्फको पहुँचमार्ग बगेपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिकाबीचको सडक सम्पर्क विच्छेद भएको छ।

यो पुल हुँदै स्थानीय बासिन्दा स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पासम्म आवतजावत गर्दै आएका थिए।

कालीगण्डकी मिसिएको नारायणीमा पनि जोखिम

कालीगण्डकी र त्रिशूली मिसिएर चितवन पुगेको नारायणी नदीको बाढीले भरतपुरका केही नदी तटीय बस्ती डुबाएको छ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रमा बाढी पसेको हो।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित बोटे टोलमा मात्रै ११० घर डुबानमा परेका छन्।

गण्डक ब्यारेज हुँदै बगेको नारायणीले पश्चिम नवलपरासीको सुस्ता गाउँसमेत पूर्ण रूपमा डुबाएको छ।

कालीगण्डकी तटीय क्षेत्रमा परेको भीषण वर्षापछि आएको बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा समेत पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।

आइतबार अपराह्न ५ बजे गण्डक ब्यारेजबाट प्रतिसेकेन्ड ४ लाख ७९ हजार १०० क्युसेक पानी प्रवाह भएको थियो।

गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ४ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ।

यसको तुलनामा गण्डकको माथिल्लो तट देवघाटमा आइतबार अपराह्न ५ बजे पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ५२ हजार क्युसेक मापन गरिएको थियो।

म्याग्दीको पहाडी खोँचबाट सुरू भएको कालीगण्डकीको उर्लिएको पानीसँगै बाढीको क्षतिको श्रृंखला सयौं किलोमिटर तलसम्म फैलिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL