०.४७ अंकले बढ्यो शेयर बजार
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आइतबार झिनो अंकले बढेको हो । आइतबार नेप्से परिसूचक ०.४७ अंक बढेर २६५५.८५ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे १२ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । जसको ८९ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनीको उच्च कारोबार भएको छ ।







