१० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रियो

काठमाडाैँ, जेठ २७ गते । चालु आर्थिक २०८१-८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरण अनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।
यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो । त्यस्तै विप्रेषण आप्रवाह अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेको छ ।
यस्तै कुल विदेशी विनिमय संञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो ।
अमेरिकी डलरमा हेर्दा यो सञ्चिति २०८१ असारको १५ अर्ब २७ करोडबाट २०।५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ । यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड छ ।
गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिति १९ दशमलव ६ प्रतिशत र अन्य वित्तीय संस्थाको सञ्चिति ५६ दशमलव ८ प्रतिशतले बढेको छ । यो सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव २ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव १ प्रतिशत, कुल आयातको १२१ दशमलव ४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३ दशमलव ८ प्रतिशत छ ।







