बोटल प्रहार गर्ने युवकले गायक प्रकाश सतुपसँग मागे माफी
काठमाडौं । गायक प्रकाश सतुपमाथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।युवकले पनि आफुले गल्ती गरेकाले अबदेखी यस्तो नगर्ने भन्दै माफी मागेका छन् ।
‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । हामी देश छाडेर परदेशमा गएका छौं । आइन्दा यस्तो काम नगर्नुहोला,’ गायक सपुतले ती व्यक्तिलाई माफी दिंदै भनेका छन्, ‘तपाईंले गर्दा मेरो मोरल डाउन भएको छ । तपाईंको लाइफलाई तलमाथि हुन नदिन पनि माफी दिएको हुँ ।’
‘प्रहरीमा बस्नु नपरोस्, नेपाल फर्किनु नपरोस्,’ आक्रमण गर्ने युवकलाई मदिरा सवेन गरेर यस्ता काम नगर्न आग्रह गर्दै उनले भनेका छन् ।उनले आयोजकलाई पनि युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह गरे ।
ती युवकले पनि आफूलाई कसैले बोतल प्रहारका लागि नउक्साएको प्रष्टीकरण दिएका छन् । ‘रमाइलो गर्दागर्दै यस्तो भयो,’ ती युवकले गायक सपुत र आयोजक नरेश गिरीको सामन्नु भनेका छन् ।
सोमबार राति रोमानियामा आयोजना गरिएको ‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नामक कन्सर्टमा ‘बोल माया’ गीत गाउँदै गर्दा गायक सपुतमाथि ती व्यक्तिले क्यान बोतल प्रहार गरेका थिए ।








