वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधवार बसेको बैंकर्स सङ्घको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशतभन्दा तल झार्ने निर्णय गरेको हो ।
सङ्घका अनुसार मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले अघिल्लो माहिनामा एउटै वर्गका बैंकले बचत वा मुद्दती निक्षेपमा दिंदै आएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले निक्षेपको ब्याजदर घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाएको बैंकर्स संघले जनाएको छ ।
यस्तै व्यक्तिगत मुद्दती निक्षेपमाभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।







