एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
कतारको दोहामा भएको फाइनलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन जोड्यो। उसका लागि ज्याक कालिसले नटआउट ७८ रन जोडे। लेन्ड सिमन्सले १७ रन र रोस टेलरले नटआउट ३२ रन बनाए। बलिङमा लायन्सका अब्दुर रजाकले २ विकेट र थिसारा परेराले १ विकेट लिए। १४८ रनको लक्ष्य लायन्सले ३ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्यो। लायन्सको जितमा उपुल थारांगाले ५७ रन र तिलकरत्ने दिलशानले ५८ रन जोडे।
खेलका नेपालका पूर्वकप्तान पारसले बलिङ र ब्याटिङ गर्न भने मौका पाएनन्। पारसले समूह चरणका दुई खेलमा भने ब्याटिङ गरेका थिए।








