दुई महिनामै भित्रियो ८ अर्ब ३५ करोडको सुन
दुई महिने अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको हो
काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको विवरण सार्वजनिक गरेको छ ।
विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौमा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो । दुई महिने अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको हो । यसबापत सरकारले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।
विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको हो । आयातकर्ताले विदेशबाट चाँदी आयात गर्दा राज्यलाई ५८ करोड ७७ लाख रुपैयाँ बराबर राजस्व बुझाएका छन् । नेपालमा टर्की र संयुक्त अरब इमिरेट्सबाट सुन आयात हुँदै आएको छ । विभागले टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख र संयुक्त अरब इमिरेट्सबाट ५ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको सुन आयात भएको बताएको छ ।







