यस वर्षको दसैंमा साटिए ५५ अर्बका नयाँ नोट
१६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो
काठमाडौं– राष्ट्र बैंकले यसपालिको दसैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको विवरण सार्वजनिक गरेको छ। यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो ।
राष्ट्र बैंकले गत २९ भदौदेखि नयाँ नोट साट्न थालेको थियो। बैंक तथा वित्तीय संस्थाले भने २ असोजदेखि नयाँ नोट साट्न थालेका थिए। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २३ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।
दसैं बिदा हुनुअघिसम्म ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका (५, १०, २०, ५० र रु १००) र ३९ अर्ब रुपैयाँ बराबर ठूला दरका (५०० र १०००) नोट सटही भएको उनले जानकारी दिए ।
राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयबाट नयाँ नोट सटही गरेको थियो। काठमाडौँको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको थियो ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गरेका थिए । काठमाडौँ उपत्यका बाहिरका कार्यालयबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गरेको विवरण राष्ट्र बैंकको छ। यसो गर्दा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताए ।
राष्ट्र बैंकले दसैं बिदा सकिएर कार्यालय खुलेपछि फेरि नयाँ नोट साटिने बताएको छ। तिहारका लागि पनि नेपालीले नयाँ नोटको खोजी गर्ने भएकोले नयाँ नोट साटिने भएको हो ।
‘सार्वजनिक बिदा सकिएर कार्यालय खुलेको दिनदेखि नै हामीले नयाँ नोट साट्ने व्यवस्था मिलाएका छौं । तिहारका लागि पनि नयाँ नोटको खोजी हुने भएकोले यसो गरिएको हो,’ कार्यकारी निर्देशक नेपालले भने।







