लुम्बिनीमा सञ्चालनमा आए बिजुली बस
पाँच वटा विद्युतीय बस भैरहवा एयरपोर्टदेखि बेलहिया, रामग्राम, बुटवल गोलपार्क, तिलौराकोट साइट परिक्रमा, मणिग्राम हुँदै देवदह रुटमा चल्नेछन्।
बुटवल– लुम्बिनी विकास कोषले दसैं अवसर पारेर बिहीबारदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गरेको छ ।कोषका उपाध्यक्ष भिक्षु मैत्रय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बिजुली बस उद्घाटन गरेका हुन् ।
पाँच वटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीदेखि तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरपर सटल बस, लुम्बिनीदेखि एयरपोर्ट बेलहिया, मणिग्राम हुँदै देवदह रुटमा चल्नेछन् ।
होटल एसोसिएसन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषबाट एक–एक वटा बसका लागि चालकको जिम्मेवारी लिएका छन् । कम्तीमा १५ दिनसम्म यो सेवा सञ्चालन गरी परीक्षणकाल सकेर औपचारिक सुरु गरिने कोषले जनाएको छ । यी सबै रुटमा निःशुल्क गाडी चल्नेछन् ।
कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण इकाइ गठन गरेको छ ।
यसअघि कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठलाई बुझाइसकेको छ । विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षण गर्न गृहमन्त्री बालकृष्ण खाणले केही दिनअघि निर्देशन दिएका थिए ।







