१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा
आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति लिन ३२ कम्पनीले बोर्डमा दिए निवेदन
काठमाडौं– सञ्चालनमा रहेका ३२ वटा कम्पनी सर्वसाधारणलाई सेयर बिक्री गर्ने (आईपीओ जारी गर्ने) अनुमतिको पर्खाइमा छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिन ३२ कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।
बोर्डका अनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढीको छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनी सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीले बोर्डबाट अन्तिम स्वीकृति पाएपछि सर्वसाधारणलाई सेयर बिक्री गर्नेछन् ।
आईपीओ जारी गर्ने अनुमतिका लागि निवेदन दिएकामध्ये १३ कम्पनीको निवेदन प्रारम्भिक अध्ययनको चरणमा छ । यी १३ कम्पनीले ६ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ बराबरको ३ करोड ७९ लाख ७७ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति बोर्डसँग मागेका छन् ।
यी कम्पनीमध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने अनुमति मागेका छन् । सर्वाेत्तमको प्राइस रेन्ज प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँ छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको प्राइस रेन्ज प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ छ ।
बाँकी ११ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गर्न लागेका छन् ।
आईपीको जारी गर्ने अनुमतिका लागि बोर्ड निवेदन दिएका र बोर्डको प्रारम्भिक अध्ययनकै चरणमा रहेका कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स, कुथेली बुखरी हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सानिमा मिडल तमोर हाइड्रोपावर, रावा इनर्जी, ट्रेड टावर, सर्वोत्तम सिमेन्ट, अपर सान्जे हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घोराई सिमेन्ट, डोल्टी पावर, सगरमाथा जलविद्युत् र माईखोला हाइड्रोपावर छन् ।
निवेदन दिएकामध्ये १३ वटा कम्पनीको प्रारम्भिक अध्ययन भएर बोर्डले थप कागजात र प्रमाण मागेको छ । यसरी प्रमाण मागिएका कम्पनीको संख्या १३ छ । यी १३ कम्पनीले २ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेका छन् ।
यसरी थप जवाफ र प्रमाण अध्ययनकै चरणमा रहेका कम्पनीमा डिस मिडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, थ्रीस्टार हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, सिटी होटल, मायाखोला हाइड्रोपावर, भूुगोल इनर्जी डेभलपमेन्ट, मकर जितुमाया सुरी हाइड्रोपावर, बीपी डब्लु लघुवित्त, इन्ग्वा हाइड्रोपावर, शुभम् पावर र सुपर मादी हाइड्रोपावर रहेको बोर्डले बताएको छ ।
मागेका थप प्रमाण र कागजात पेस गरेका ६ कम्पनीले बोर्डमा बुझाएको थप प्रमाण र कागजात अध्ययन भइरहेको बोर्डको भनाइ छ । यी कम्पनीले ७६ करोड ११ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका छन् ।
यसरी अनुमति मागेका कम्पनीमा सुपरमाई हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, वाराही हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शन प्रालि छन् ।







