किसानलाई बाँडिँदै परिचयपत्र
कृषि मन्त्रालयले ७ लाख ६५ हजार किसानलाई परिचयपत्र वितरण गर्न लागेको हो।
काठमाडौं–कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान वर्गीकरणमा सूचीकृत ७ लाख ६५ हजार किसानलाई परिचयपत्र वितरण गर्ने तयारी थालेको छ ।
किसानलाई परिचयपत्र वितरण गर्न गृहकार्य थालिएको कृषि मन्त्रालयका उपसचिव तथा किसान सूचीकरण कार्यक्रमका प्रमुख शिवनन्दन साहले बताएका हुन् ।
वर्गीकरण भइसकेपछि सरकार तथा अन्य निकायबाट किसानलाई दिइने सेवा–सुविधा परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ ।
राष्ट्रिय कृषक समूह महासंघले कञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा किसान वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ ।
महासंघ अध्यक्ष नवराज बस्नेतले कृषि मन्त्रालय र आफूहरूले गरेको किसान सूचीकरणमा खासै फरक नरहेको बताए । नेपालमा ४२ लाख घरपरिवार किसान छन् । सो आधारमा हालसम्म न्यून मात्र किसान सूचीकृत भएका छन् ।







