आठ महिनामा घुमफिरका लागि नेपाल आए ३ लाख २६ हजार बढी पर्यटक
कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन थालेका हुन्।
काठमाडौं– पर्यटन बोर्डका अनुसार पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजार बढी पर्यटक भित्रिएका छन् । बोर्डका विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगस्तसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् ।
सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटक आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन पुनः सुरु गरेका हुन् ।
बोर्डका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ थियो ।
यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।गत जुनमा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ र फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मेमा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार जुलाईमा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, अगस्तमा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको बोर्डले जनाएको छ ।







