दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण गर्दै आविष्कार केन्द्र
सरकारले मेसिन निर्माण गर्न आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने
काठमाडौं– महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण गर्ने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिन निर्माण गर्नेछ भने सरकारले पनि सघाउनेछ ।
मेसिनको आवश्यक प्रविधि अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्ने गरी लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।
समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि उपलब्ध गराइनेछ । यो रकमबाट सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेसिन बनाउन खर्चिने पुनले बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने राष्ट्रिय नीतिलाई सघाउने विश्वास व्यक्त गरे । भविष्यमा यस्तो सहयोग र सहकार्य आविष्कार केन्द्रसँग हुने मन्त्री बडुले बताए ।







