अर्थ बाणिज्य / समाज Sunday, 28 Aug, 2022
Prestige Media

तीजले बढायो सुनको कारोबार

महिलाको चाड तीजको चहलपहल बढेको र दसैं, तिहार, छठजस्ता ठूला चाडपर्व नजिकिएकाले सुनका गहनाको कारोबारमा वृद्धि

काठमाडौं– चाडवाड नजिकिएसँगै बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । काठमाडौंको सुनपसलमा यतिबेला गहना किन्ने ग्राहकको भीड लाग्ने थालेको छ ।

महिलाको चाड तीजको चहलपहल बढेको र दसैं, तिहार, छठजस्ता ठूला चाडपर्व नजिकिएकाले सुनका गहनाको कारोबारमा वृद्धि भएको व्यवसायी बताउँछन् । गत जेठ, असार र साउनमा बिक्री न्यून रहेकामा भदौदेखि कारोबार दोब्बरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष माणिकरत्न शाक्य भदौ लागेसँगै चाडपर्व सुरु भएकाले सुनचाँदीको कारोबार दिनप्रतिदिन बढ्दै गएको बताउँछन् । यसअघि दैनिक १० किलोग्रामको हाराहारी सुन बिक्री भइरहेकामा अहिले दैनिक २५ किलोग्रामसम्म बिक्री हुने गरेको उनले जनाए । ‘भदौ लागेसँगै चाडबाड नजिकिन थालेकाले बजारमा सुन माग बढ्न थालेको छ’, शाक्यले भने ।

बिहे र चाडपर्वको समय सुन कारोबार बढ्छ । तीजलगत्तै दसैं, तिहार आउने हुँदा सुनको कारोबार बढ्ने गर्छ । बजारमा दसैंको घटस्थापनाका दिन र तिहारको धनतेरसको दिन सबैभन्दा धेरै सुन कारोबार हुने गरेको छ।

यसपछि मंसिर, पुस, माघ, फागुनमा विवाहका लगन धेरै पर्ने भएकाले सुनको कारोबार उल्लेख्य हुने गरेको महासंघको तथ्यांक छ।
सरकारले विदेशी विनिमय सञ्चिति जोगाउने लक्ष्यसहित दैनिक १० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि दैनिक २० किलोग्राम सुन ल्याउन पाइने व्यवस्था हटाएर दैनिक कोटा १० किलोग्राममा झारेको छ ।

बजारमा सुनको माग बढेकाले आवश्यकताभन्दा कम सुन आपूर्ति भइरहेको व्यवसायीको भनाइ छ । गत वैशाखदेखि राष्ट्र बंैकले सुन आयातमा कडाइ गरी दैनिक १० किलोग्राममा झारेको थियो ।सरकारले दैनिक १० किलोग्रामसम्म मात्र सुन ल्याउन दिएको अवस्थामा बजारको माग २५ किलोसम्म भएकाले आपूर्तिमा कमी भइरहेको अध्यक्ष शाक्य बताउँछन् ।

महासंघका अनुसार आइतबार बजारमा सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय र चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँ तोकिएको छ ।
गत आर्थिक वर्ष मुलुकमा ३५ अर्ब रुपैयाँको पहेंलो धातु सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०७८÷७९ मा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार बराबरको ५ हजार ५३ किलो सुन आयात भएको छ ।

आव २०७७÷७८ मा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो । यस्तै आव २०७८÷७९ मा १३ अर्ब ९ करोड २९ लाख बराबरको १ लाख ३८ हजार ५०१ किलो ३६४ ग्राम चाँदी आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष ७ अर्ब ३२ करोड ६९ लाख ७१ हजार बराबरको ७२ हजार ७४६ किलो आयात भएको तथ्यांक विभागको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL