गहुँ आयातमाथिको प्रतिबन्ध फुकाउन भारतलाई पत्र
काठमाडौं– नेपालले भारत सरकारलाई गहुँ आयातमाथिको प्रतिबन्ध खुलाउने आग्रहसहितको पत्र पठाएको छ । नेपाल मैदा उद्योग संघको प्रतिनिधिमण्डलसँगको भेटमा वाणिज्य सचिव गणेशप्रसाद पाण्डेले यस्तो जानकारी दिएका हुन् ।
संघ अध्यक्ष कुमुद दुगड नेतृत्वको प्रतिनिधिमण्डलले वाणिज्य सचिव पाण्डेलाई भेटेर समस्याबारे ध्यानाकर्षण गराएको थियो ।सचिव पाण्डेले स्वदेशी उद्योग संरक्षण गर्न सरकारको तर्फबाट गहुँ आयात प्रक्रिया अगाडि बढिसकेको र बुधबारै सम्बन्धित निकायमा पत्र पठाइएको बताए ।
चालू आर्थिक वर्षका लागि लगभग १० लाख टन गहुँ आवश्यक पर्ने हुँदा घरेलु उत्पादनले मात्र नेपालको मागलाई धान्न नसक्ने संघले बताएको छ ।
‘३.५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी गहुँ आयात गर्नुपर्ने अवस्था छ,’ दुगडले भने । हाल नेपालमा ३६ मैदा मिल सञ्चालनमा छन् ।
भारतले ३० वैशाख २०७९ देखि नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग प्रभावित भएका छन् ।







