एक दिनपनि टिक्न सकेन नेप्सेको वृद्धि बजार ३५.०९ अंकले घट्यो
सोमबार नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब साढे ११ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.९० अंक प्रतिशत बढेको छ । त्यस्तै, यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ४.४६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८८ लाख ५३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ३९ करोडको शेयर किनबेच भएको छ भने सानिमा बैंकको कारोबार रकम २४ करोड ७५ लाख रुपैयाँ नाघेको छ।







