अण्डाको मूल्य बढ्यो
चितवन- अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ ।
सङ्घले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट चार सय ८० र मझौला चार सय ५० रुपैयाँ कायम गरिएको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको हो ।
व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो तीन हजार ५४० र मझौला तीन हजार ३३० रुपैयाँमा बिक्री गर्ने पोखरेलले बताउनुभयो ।
चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताउनुभयो । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन् ।
विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो ।
धेरै किसान विस्थापितसमेत भएको उहाँ बताउनुहुन्छ । गत वर्ष प्रतिक्रेट पाँच सय २५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० रुपैयाँमा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ ।







