बागलुङका शिवालयमा बिहानैदेखि पूजाआजा
साउनको पहिलो सोमबार आज बागलुङका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। बेनी नगरपालिका–९ स्थित गलेश्वरमा दर्शनार्थीको उल्लेख सहभागिता रहेको छ। मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए। गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्छ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा पनि बिहानदेखि भक्तजनले पूजाआजा गरिरहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले जानकारी दिए। यस्तै काठेखोला गाउँपालिका–७ को ओदानेश्वर महादेव मन्दिर, बागलुङ नगरपालिका–९ को तित्याङ शिवालय मन्दिरमा समेत भक्तजनले पूजाआजा गरिरहेका छन्।
यस्तै काठखोला–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र गलकोट नगरपालिका–७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा भइरहेको छ।